काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिँदै बहुसांस्कृतिक विशेषताहरू हाम्रो सुन्दर देश नेपालका मौलिक पुँजीको रूपमा रहेको बताएका छन्।
ग्याल्पो ल्होसारको अवसरमा अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
‘बहुसांस्कृतिक विशेषताहरू हाम्रो सुन्दर देश नेपालका मौलिक पुँजीको रूपमा रहेका छन्। एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरू हुन्। हाम्रो संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ।’ शुभकामना सन्देशमार्फत ओलीले भनेका छन्,’यहाँ विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थाहरू सम्मानित उनीहरूका भाषा, लिपी, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाहरू संरक्षित छन्।’
साथै अध्यक्ष ओलीले नेकपा एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको उल्लेख गरेका छन्। ‘नेकपा एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर छ।’ उनले भनेका छन्,’लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवन मूल्य समेटिएको परिपूर्ण र आचरण सिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ। एमाले जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छ। समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आ-आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा आग्रह गर्दछु। अन्त्यमा, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।’