काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् ।
मङ्गलवार ग्रिल तथा स्टिल व्यवसायी सङ्घ काठमाडौँको ७ औँ वार्षिक साधारण सभामा बोल्दै उप–मेयर डङ्गोलले यस्तो बताएकी हुन् ।
उनले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताइन् । उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन् ।
उप–मेयर डङ्गोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताइन् । उनले व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको उल्लेख गरिन् । उनले दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको स्वीकार गरिन् ।
डङ्गोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि बताइन् । उनले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उल्लेख गरिन् ।