काठमाडौँ । समर सेड्यूल लिनु अगाडि बक्यौता चुक्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
वायुसेवा कम्पनीबाट करोडौँ रुपैयाँ बक्यौता उठ्न नसकेपछि प्राधिकरणले बिहीबार वायुसेवा कम्पनीहरूलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले नेपाल वायुसेवा निगमसहित आन्तरिक उडानमा सेड्यूल उडान गर्ने सबै वायुसेवा कम्पनीका नाममा पत्र काटेको हो । जसमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर, गुण एयर, सीता एयर र सौर्य एयरलाइन्स रहेका छन् ।
प्राधिकरणले १६ फागुनसम्म समर सेड्यूल पेस गर्न र त्यस अगाडि ३१ डिसेम्बर २०२२ सम्म विभिन्न विमानस्थलमा सेवा सञ्चालन गरेबापत तिर्नुपर्ने बक्यौता चुक्ता गर्न निर्देशन दिएको हो ।
यसैगरी प्राधिकरणले सबै हेलिकप्टर कम्पनीलाई समेत बिहीबार पत्र काटेको छ । प्राधिकरणले प्रधान कार्यालयबाट उडान अनुमति लिनुपूर्व विमानस्थलहरुमा बुझाउनु पर्ने बक्यौता बुझाउन निर्देशन दिइएको छ ।
प्राधिकरणका अनुसार ३१ डिसेम्बर २०२२ सम्म बुझाउनु पर्ने सबै रकम बुझाएको प्रमाण देखाएपछि मात्र उडान अनुमति पाइने भएको छ ।