काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज बालुवाटारमा आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको बीजारोपण गरेको जनाएको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनको भविष्यसमेत अनिश्चित बनेको बताए ।
ज्ञवालीले गठबन्धनको सबैभन्दा बढी लाभ लिएका प्रधानमन्त्री प्रचण्डले नै गठबन्धनका सहयात्री दललाई धोका दिएको बताए ।
उनले भने, ‘उहाँको राजनीतिलाई धोकाधडी, दाउपेच र सौदाबाजीको विषय बनाउनुभयो । अब हामीले नयाँ ढङ्गले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’
अहिलेको राजनीतिक चक्रब्यूहको असर नेपाली राजनीतिमा दूरगामी पर्ने उनले बताए । सत्तारुढ गठबन्धनको भविष्य अनिश्चित बनेको समेत उनको भनाइ छ ।
विकसित घटनाक्रमबारे एमालेले भोलि सचिवालय बैठक बसेर आफ्नो धारणा बाहिर ल्याउने भएको छ ।