हेटौँडा । कर्मचारी सम्बन्धी दुई वटा अध्यादेशको प्रतिस्थापन विधेयकमाथि दफावार छलफल गर्न र प्रतिवेदन पेस गर्न १५ सदस्यीय विधेयक व्यवस्थापन विशेष समिति गठन गरिएको छ । बागमती प्रदेश सभाले फागुन १० गते संसदमा पेस गरेको विधेयकका लागि शनिवार साँझ बसेको प्रदेश सभा बैठकले समिति गठन गरेको हो ।
प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फागुन १८ गतेभित्र पारित गर्नुपर्ने कानुनी बाध्यता छ । सोही अनुसार विधेयकहरूमाथि दफावार छलफल गरी सभासमक्ष प्रतिवेदन पेस गर्न १५ जना प्रदेश सभा सदस्य रहेको विधेयक व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ ।
समितिमा प्रदेश सभा सदस्यहरू उद्धव थापा, डा.दिनेशचन्द्र देवकोटा,आशा लामा, कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, जयराम थापा, रत्नप्रसाद ढकाल, प्रकाश श्रेष्ठ, राधिका तामाङ, रामकृष्ण चित्रकार, बसन्तप्रसाद मानन्धर, मधुसूदन पौडेल, शैलेन्द्रमान बज्राचार्य, सिर्जना सायजु र सुरेन्द्रराज गोसाईं रहेका छन् ।
आउँदो फागुन १८ गतेभित्र प्रतिवेदन सभामुख समक्ष पेस गर्नुपर्ने समय सीमा तोकिएको छ । समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैँले निर्धारण गर्ने र संयोजक तोक्ने जिम्मेवारी समितिका सदस्यहरूलाई दिइएको छ ।
आवश्यकता अनुसार समितिले विशेषज्ञ आमन्त्रण गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।