काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी सङ्गठनहरूले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी सङ्गठनहरूको बैठकले सो निर्णय गरेको हो ।
गठबन्धन गर्ने दलहरूमा अखिल (क्रान्तिकारी) सहित अखिल नेपाल विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन र कपिल सिजापति संयोजक रहेको अखिल ९क्रान्तिकारी० रहेका छन् । चारवटा विद्यार्थी सङ्गठनहरूले एजेण्डा मिल्ने वाम, देशभक्त तथा प्रगतिशील विद्यार्थी सङ्गठनहरूसँग आगामी स्ववियु निर्वाचनमा तालमेल तथा सहकार्य गर्ने पनि बताएका छन् ।
बैठकले स्ववियु निर्वाचनमा त्रिविमा भएको निजीकरण, व्यापारीकरण, दलीय भागबन्डा र स्रोत साधन दुरुपयोग अन्त्यको एजेण्डा लिएर जाने निर्णय समेत गरेको छ । त्यस्तै विश्वविद्यालयको भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनमा विश्वविद्यालयको क्यालेन्डर लागू गराउने र विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा सुविधा सम्पन्न भौतिक पूर्वाधार ९कक्षा कोठा, शौचालय, ल्याब, खेलकुद लगायत० र विद्यार्थीका लागि आवास गृहको निर्माणको एजेन्डा लिएर जाने पनि बताएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा विद्यार्थीहरू माझ राष्ट्रियता एवं जनजीविका को पक्षमा र बेरोजगारी तथा युवा पलायन साथै दलाल पुँजीवादी संसदीय व्यवस्था विरोधी मोर्चा तयार गर्ने र त्रिविको शैक्षिक एवं प्रशासनिक गुणस्तर सुधार साथै समय सापेक्ष र व्यवहारिक शिक्षाबारे विश्वविद्यालय र विद्यार्थीबीच छलफल, बहस र अन्तरक्रिया गर्ने पनि भनिएको छ ।