काठमाडौँ । देशका समस्याहरूलाई समाधान गर्न सबै पार्टीहरू एकजुट हुनुपर्छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरूलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरू देखिएका भन्दै ती समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका हुन् । उनले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताए।
उनले सङ्कटको बेलामा सबै दलहरूले हातेमालो गर्दा राम्रो हुने धारणा व्यक्त गरे । ‘नेपालमा जस्तो किसिमको चुनौतीहरू देखिएका छन्, ती चुनौतीहरू सामना गर्नलाई देशका सबै राजनीतिक दलहरू एकजुट भएर जानुपर्छ, सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो’ उनले भने, ‘देशको समस्या चुनौतीपूर्ण छ, यो समस्यालाई समाधान गर्नका लागि देशका सबै राजनीतिक दलहरू एक भएर जानुपर्छ । सङ्कटको बेलामा, अप्ठ्यारो बेलामा हातेमालो गर्दा राम्रो हुन्छ । यो मेरो निजी कुरा हो ।’
अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू भएको टिप्पणी गरे । आफूहरूका बिचमा भएको सहमतिका बारेमा कुरा खोल्ने बेला नआएको उनको भनाई छ ।
उनले वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरूसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले आफूहरू एजेण्डा मिल्नेहरूसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको पनि बताए । अध्यक्ष नेपालले सबै कुरा मिल्नेहरूसँग एकताबद्ध हुन पनि सक्ने भन्दै कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।