काठमाडौँ । गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि १० मिनेट सभा स्थगित भएको थियो ।
यसपछि आजै बसेको १७ औँ बैठकमा सरकारले विजनेश दिन नसक्दा सभा अनिश्चितकालका लागि स्थगित भएको हो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जनाए ।
प्रदेशसभाबाट फागुन १४ गते दुई वटा प्रतिस्थापन विधेयक पारित भएको थियो । ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिस्थापन विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिस्थापन विधेयक’ पारित भएको थियो । उक्त विधेयक फागुन ८ गते आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले प्रदेशसभामा प्रस्तुत गरेका थिए । फागुन १० गते सामान्य छलफल र फागुन १४ गते दफावार छलफलपछि ती विधेयक पारित भयो । बुधबार भने प्रदेश प्रमुख गुरुङले सम्बोधन गरेपछि सभा अनिश्चितकालका लागि स्थगित भएको हो ।