डोटी । डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय बुधबार स्थापना गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढीमा एक कार्यक्रमका बिच वृक्षारोपण गरी पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जेष्ठ सदस्य नरेन्द्र बहादुर खड्काले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
रवि लामिछाने नेतृत्वको रास्वपाको पार्टी विस्तारको क्रममा पार्टी विधानको धारा ७८ बमोजिम ‘रुख रोपौँ, रुखा बचाऔँ’ भन्ने सन्देशका साथ वृक्षारोपणसहित पार्टी कार्यालयको स्थापना गरिएको रास्वपाका जिल्ला संयोजक केशव बलायरले बताए ।
आगामी दिनमा पार्टीले जिल्लाका सबै स्थानीय तहहरूमा पालिकास्तरीय कमिटी गर्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला उप संयोजक मीन बहादुर धामीले बताए ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा जेष्ठ सदस्य नरेन्द्र खड्कालगायत पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।