बनियानी । झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।
संघीय सरकारको पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो ।
भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिए ।
नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले जानकारी दिइन् । उनले भनिन्, ‘हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।’
नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नगर अस्पतालबाट स्वास्थ्य बिमासहित दैनिक बहिरङ्ग, प्रयोगशाला, भिडियो एक्स–रे, ईसीजी, प्रसूति, एक्स–रे लगायतका सेवा प्रवाह हुने नगर अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल अधिकारीले बताए । ‘विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्छौँ’, उनले भने, ‘विशेष परिस्थिति बाहेक रिफर दिइने छैन ।’
नगर अस्पतालका हाल ३६ जनशक्ति व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन मेडिकल अधिकृत, प्यारामेडिक्स १२, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफी एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एक गरी ३६ जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजीव विष्टले जानकारी दिए ।
अस्पताल परिसरमा थप १८ करोड ५० लाखको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने जनाइएको छ ।