काठमाडौँ । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका आले मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरूले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।
बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।