काठमाडौँ । बैतडीमा जीवन बुडाल मुत्यु प्रकरणमा प्रहरीले १२ जना शङ्कास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार : अनुसन्धान विभागका कर्मचारीको रहस्यमय मृत्यु, १२ जना प्रहरी नियन्त्रणमा
अनुसन्धानको क्रममा शव भेटिएको ठाउँभन्दा केही पर बस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
उनका अनुसार घटनास्थलको केही किलोमिटर पर फेला परेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।
राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका थिए।
दशरथ चन्द नगरपालिका-१० खडेनी घर भएका बुडाल फागुन १३ गते दोगडाकेदार ४ जाडाबगर चमेलिया नदी किनारमा मृत फेला परेका थिए।
त्यो दिन बिहान उनी साथीहरूसँग पिकनिक मनाउन गएका थिए।
हत्या भएको भन्दै बुडालसँगै पिकनिक मनाउन गएका १२ जनामाथि परिवारले किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरीको सिआइबीको टोली पनि बैतडी पुगेको छ।
मृतक बुडालको पोस्टमार्टम रिपोर्ट क्लियरका लागि भिसेरा परीक्षण गर्न काठमाडौं पठाइएको छ। घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने भन्दै बुडालका आफन्तले अहिलेसम्म शव बुझ्न मानेका छैनन्।