काठमाडौँ । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस इन्टर्नसिपका विद्यार्थी र क्याम्पस प्रशासनबिच सहमति भएको छ । सहमतिसँगै विद्यार्थीले २१ दिनदेखि जारी आन्दोलन फिर्ता लिएका छन् भने अस्पतालमा लागेको ताला खुलेको छ ।
आन्दोलनरत पक्ष, क्याम्पस प्रशासन, नरदेवी आयुर्वेद अस्पतालका प्रतिनिधि र मेडिकल काउन्सिलका प्रतिनिधि सहभागी आजको बैठकमा विद्यार्थीको मागअनुसार ६ महिना नरदेवी आयुर्वेद अस्पतालमा इन्टर्नसिप गर्न पाउने सहमति भएको आन्दोलनका संयोजक डा. सुनिल भुसालले जानकारी दिए ।
सहमतिमा आयुर्वेद क्याम्पसका विद्यार्थीलाई कम्तीमा ६ महिना नरदेवी आयुर्वेद अस्पतालमा इन्टर्नसिप गर्न दिइने उल्लेख छ । जसअनुसार बीएएमएस सकेका ३० विद्यार्थीमध्ये १५ जनाले नरदेवी अस्पतालमा र १५ जनाले कीर्तिपुरमै इन्टर्नसिप गर्ने छन् । त्यसलाई ६ महिनापछि सुरुमा नरदेवीमा इन्टर्न गरेकाका लागि कीर्तिपुरमा र सुरुमा कीर्तिपुरमा गरेकालाई नरदेवीमा इन्टर्नसिप गराइने सम्झौतामा उल्लेख छ ।