काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दायर गरिएको भन्दै नेपाली जनप्रगतिशील मञ्च जर्मनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चले तत्कालीन माओवादी र सात राजनैतिक दलकाबीचमा बृहत् शान्ति सम्झौता सम्पन्न भएर मुलुक उक्त प्रक्रियामा प्रवेश गरेको स्मरण गर्दै विस्तृत शान्ति सम्झौता नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अङ्ग बनिसकेको स्पष्ट गरेको छ ।
मञ्चका अध्यक्ष गोविन्द भण्डारीले जारी गरेको विज्ञप्तिमा द्वन्द्वकालीन अवस्थामा भएका घटनाहरूको छानबिन र निरूपणको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भई कामकारबाही अगाडि बढेको सन्दर्भमा गलत उद्देश्यका साथ रिट दायर गरिएको जिकिर गरिएको छ ।
‘मुलुकमा शान्ति बहाल हुन नदिन जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई नष्ट गर्न यसको सुरुवातदेखि नै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरू लागि परेको कुरा न्याय प्रेमी नेपाली जनताबाट लुकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रलाई पुनः द्वन्द्वमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेती गरिरहेका तत्त्वहरूसँग सम्मानित सर्वोच्च अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौँ ।’