काठमाडौँ। उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज बोलाएको छ ।
शुक्रबार बिहान साँढे ११ बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्नेबारे निर्णय गर्न बैठक तय गरिएको हो । यसअघि राष्ट्रपति चुनावमा रास्वपाले सत्ता गठबन्धनलाई साथ दिएको थियो ।
प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाका १९ सांसद छन् । उपराष्ट्रपतिको निर्वाचन आज हुँदैछ ।
उपराष्ट्रपति निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी ४ जना उम्मेदवार छन् ।