काठमाडौँ । यू-१७ महिला साफ च्याम्पियनमा भुटानलाई नेपालले ५-० गोलअन्तरले हराएको छ।
वर्षा ओली र सेनु परियारले समान २ गोल गरेको खेलमा नेपाली युवा टोलीले बुधबार नेपालले भुटानमाथि सहज जित हात पारेको छ।
नेपालले जितपछि प्रतियोगितामा दुई खेलबाट ३ अङ्क जोडेसँगै नेपाल चौथो स्थानमा रहेको छ । समान खेलबाट ३ अङ्क नै जोडेको बङ्गलादेश तेस्रो स्थानमा छ। एक खेल खेलेर समान ३ खेल जोडेका भारत र रुस क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। दुई खेल खेलेको भुटान भने अङ्कविहीन छ।
पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो। भारतसँग पराजित हुँदा पनि वर्षाले एक गोल गरेकी थिइन्। जारी प्रतियोगितामा वर्षाले तीन गोल गरिसकेकी छिन्।
प्रतियोगितामा दक्षिण एसिया क्षेत्रका भारत, नेपाल, बङ्गलादेश र भुटान छन् भने रुसलाई पनि आमन्त्रित गरिएको छ । रुसले यो प्रतियोगिता पहिलो पटक खेलेको हो।
नेपालले अब आइतबार आयोजक बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।