काठमाडौँ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको छ ।
नेपाल विद्यार्थी सङ्घका मनोज डिसी १ हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी भएका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरेका थिए ।
सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका वसन्त भण्डारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरी पराजित भए ।
त्यस्तै, कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत विजयी भएकी छन् भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरी पराजित भए ।
यस्तैगरी सदस्यमा नेविसंघका वसन्त कँडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।
क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौं)ले गठबन्धन गरेका थिए ।
चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहे पनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।