काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ ।
आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइको मासिक तलब नियुक्त भएको दुई महिना नपुग्दै २० प्रतिशतले बढाएको हो ।
यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बताइएको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए । गत माघ २३ गते देसाइलाई क्रिकेट सङ्घले प्रमुख प्रशिक्षकमा नियुक्ति गरेका थियो ।
देसाइको प्रशिक्षणबाट नेपालले घरेलु मैदानमा २ वटा र यूएईमा एउटा एक दिवसीय शृङ्खला खेलेको छ । घरेलु मैदानमा भएका दुवै शृङ्खला नेपालले क्लीन स्वीप गर्न सफल भयो । यसैगरी यूएईमा भएका ४ म्याच मध्ये तीन वटा नेपालले जितेको थियो ।
समग्रमा देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ । यही प्रदर्शनको बलमा नेपालले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर्समा स्थान पक्का गरेको हो ।
राष्ट्रिय टोलीले चमत्कारिक प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण सफलता हासिल गरेपछि क्रिकेट समर्थकहरूमाझ देसाइ लोकप्रिय बनिरहेका छन् । क्यानले पनि छिट्टै तलब बढाएर उनलाई पुरस्कृत गरेको छ ।