काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र यूएसएआईडी-नेपालकी प्रमुख सेपिडे केभान्शाडले मधेशप्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग संयुक्त रूपमा यूएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको सुरु गरेका छन् ।
दुई करोड अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपैयाँ) बजेटसहितको उक्त पाँच–वर्षे कार्यक्रमले नेपालका मधेस र लुम्बिनी प्रदेशहरूमा संघीय, प्रादेशिक र स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
यस क्रियाकलापमार्फत यूएसएआईडी र नेपाल सरकारले राष्ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था र प्रणालीहरूलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्ने उल्लेख छ । उक्त कार्यक्रममा स्थानीय सरकारका मेयर र उपमेयरहरूसहित मधेस प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको उपस्थिति थियो ।