काठमाडौँ । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आज दुई खेल हुदैछ।
नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ । वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा पपुवा न्यु गिनी(पीएनजी) र अमेरिकाबीच खेल हुदैछ ।
प्रतियोगितामा तेस्रो खेल खेल्न लागेका अपराजित टोली क्यानडा ४ अङ्क सहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दुवै टोलीले प्रतियोगितामा आ-आफ्नो चौथो खेल खेल्न लागेका हुन् । तीन खेलमा २ जितका साथ ६ टोली सहभागी प्रतियोगितामा अमेरिका दोस्रो स्थानमा रहेको छ ।
अङ्क विहीन पीएनजी विश्वकप छनोटमा स्थान बनाउन तथा एक दिवसीय अन्तराष्ट्रिय मान्यता कायम गर्ने दौडबाट बाहिरिसकेको छ ।
पीएनजी यस प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । आज नै हुने अर्को खेलमा नामिबिया र युएई खेल्दै छन् । खेल युनाइटेड क्रिकेट मैदानमा हुनेछ ।
घरेलु टोली नामिबिया ३ खेलमा ४ अं कका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेलमा युएईलाई पराजित गरी नामिबिया विश्वकप छनोटमा स्थान बनाउने सम्भावना बलियो बनाउन चाहन्छ ।
युएई पनि जित हात पारेर एक दिवसीय अन्तराष्ट्रिय मान्यता सुनिश्चित गर्न चाहन्छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरूको सहभागिता रहेको छ ।
लिग-२ मा नामिबिया चौथो, अमेरिका पाँचौँ, युएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिङ्गल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भइसकेको छ ।