काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत आज दुई खेल हुँदैछन् ।
लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा साबिक विजेता मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
मछिन्द्र आज दोस्रो जितको खोजीमा रहेको छ । मछिन्द्र ५ खेलमा ५ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ । हिमालयविरुद्धको खेलमा मछिन्द्रमा हालै अनुबन्धित भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले खेल्ने सम्भावना रहेको छ ।
हिमालयन पनि दोस्रो जितको खोजीमा छ । हिमालयन ५ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
आर्मी आज तेस्रो जितको योजनामा हुनेछ । आर्मी ५ खेलमा ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । थ्री स्टार पनि तेस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ७ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।