काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनमा आबद्ध १० दलले १३ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्रीले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको न्यूनतम साझा कार्यक्रमका राम्रा विषयलाई विकसित र परिमार्जित गरेर यो पटक ल्याएको बताए ।
‘यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो,’ उनले भने । यसबारे अध्ययन गरेका धेरैले अघिल्लाहरू भन्दा राम्रो आएको र इमान्दार कार्यान्वयन गर्ने हो भने अहिले देखिएका समस्या र असन्तुष्टिहरू सम्बोधन हुने बताएको उनले सुनाए ।