काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर प्रयोग गरिएकोप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार सार्वजनिक न्यूनतम साझा कार्यक्रममा डिजिटल हस्ताक्षर राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
राजमोको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ । पाँच दलीय सरकारद्वारा जारी गरिएको न्यूनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ । अहिले पनि हाम्रो त्यो नीति कायम नै छ ।’