काठमाडौँ । आर्थिक वर्ष (आव) २०७९–८० को साउनदेखि चैतसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकले भक्तपुर अवलोकन गरेका छन् । जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू रहेको भक्तपुर नगरपालिकाले जनाएको छ ।
गत आवको तुलनामा ९ महिनाको अवधिमा ९३ हजार ६४५ जना (गैर सार्क ५६,२६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७,३८५ जना) पर्यटकको आगमन वृद्धि भएको छ । यी पर्यटकबाट ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बराबरको पर्यटन शुल्क बढी संकलन भएको नगरपालिकाले जनाएको छ ।
यस आवमा पर्यटन शुल्कबाट १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र र चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ । भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग १ हजार ५ सयलाई १ हजा ८ सय रुपैयाँ कायम गरी शुल्क संकलन गर्दै आएको छ ।