काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग एसियाली विकास बैंकका देशीय निर्देशकले भेट गरेका छन्।
आज (सोमबार) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर)अर्नौड कौकोइसबीच भेटवार्ता भएको हो।
सिंहदरवारस्थित आयोगको कार्यालयमा भएको भेटमा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडिबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक श्रीजना राजभण्डारी सहभागी थिए।
आयोग र एडिबीबीच सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उपाध्यक्ष डा. श्रेष्ठले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
भेटमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाहरूको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो।