काठमाडौँ । लुम्बिनी प्रदेशमा काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले दाबी पेस गरेका हुन् ।
चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।
यसअघि बनेको एमाले नेता लीला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई काँग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३–३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १–१ जनासहित ५३ जनाको समर्थन छ । माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन् ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ ।