काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू क्रमशः सुदृढ हुँदै गएको बताएका छन् ।
राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
तरलताको अवस्थामा पनि क्रमिक सुधार र ब्याजदर माथिको दबाब पनि कम हुँदै गएको गभर्नर अधिकारीले बताए ।
शोधनान्तर स्थिति बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगायत तरलतामा पनि सुधार आएको उनले मुद्रास्फीति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केही दबाब परेको जानकारी दिएका छन् ।
केही बैंकहरूले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधिहरू सुधार हुँदै जाने देखिएको उनको भनाइ छ ।
गभर्नर अधिकारीले राजस्व चुहावट नियन्त्रणमा थप सक्रियता अपनाइएका कारण राजस्व सङ्कलनमा सुधार हुने अपेक्षा राखिएको बताए ।