काठमाडौँ । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटमा राजस्व छली गरेर ल्याउँदै गरेको ११ लाखभन्दा बढी मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाटको टिसीएन चोक नजिकै तीन वटा मोटरसाइकलमा ल्याउँदै गर्दा प्रहरीले रोकेपछि तस्करीमा संलग्न व्यक्ति सामान छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार ७ सय ३४ थान लेडिज कुर्था सरवाल, ६ सय २७ थान टिसर्ट, ६० पिस जेन्स कुर्ता पाईजामा, ४ सय ९० थान सेन्डो बरामद भएका छन् । बरामद भएको सामान महेशपुर भन्सार कार्यालय पठाइएको छ ।
जिल्लाको भारतीय सीमावर्ती क्षेत्रबाट सशस्त्र र नेपाल प्रहरीलाई छल्दै तस्करले जिल्लाको मुख्य बजार परासी, बर्दघाट, भुमहीसम्म सामान ल्याउने र त्यसपछि चितवन, नवलपुर, काठमाडौँसम्म पुर्याउने गरेका छन् ।