काठमाडौँ । प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ।
प्रतिनिधि सभाको आज (शुक्रबार) को दोस्रो बैठकले उक्त सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो।
त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।
बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्न यही जेठ ७ देखि ११ गतेसम्म तोकेका छन्। छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा नाम बुझाउनुपर्नेछ।
सभामुख घिमिरेले राष्ट्रियसभाको बैठकबाट सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिमा रहने ३ सदस्यको नाम मनोनयनसम्बन्धी सन्देशको जानकारी गराएका थिए।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ।