काठमाडौँ। सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिले सोमबारदेखि काम सुरु गरेको छ ।
मस्यौदा समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सम्बोधन गरेका थिए ।
उनीहरूले छिटो भन्दा छिटो आफ्नो काम सम्पन्न गर्न समितिलाई आग्रह गरेका थिए । प्रतिनिधिसभाबाट जेठ १ मा गठन भएको मस्यौदा समितिले सात दिनको समय पाएको छ ।
काम थालेको मितिले सात दिनमा मस्यौदा पेस गर्ने जिम्मेवारी पाएको समितिले अबको सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । तर, यसअघि समितिले समयमा काम नसक्ने र म्याद थप गरिदिने अभ्यास रहेको छ ।
मस्यौदा समितिमा सांसदहरू अनिता देवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेश बर्तौला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवास नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे सदस्य छन् ।