काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई एक कार्यक्रमको बीच सम्मान गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई सम्मान गरेको हो।

बैंकले हालै सम्पन्न एसीसी प्रिमियर कप–२०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसिलयलहरूलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको हो। नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टिम अफिसिलयहरूलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताएका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय रूपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरेको बताए ।
क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अन्तर्राष्ट्रिय रूपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए।
यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने हामी सबैको सपना भएको र त्यो सपना पूरा गर्न पाएकोमा खुसी लागेको बताएका छन्।

मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्र रमण खनाल र सरस्वती अधिकारी, उप कार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डङ्गोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, बैंकमा क्रियाशील तीन वटै ट्रेड युनियनका अध्यक्षहरू रा.वा.बैंक कर्मचारी सङ्घ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रा.वा. बैंकका उपाध्यक्ष जितेन्द्र राई, विभागीय प्रमुखहरू, प्रादेशिक प्रबन्धक, मुख्य शाखा कार्यालयका प्रबन्धक, कर्पोरेट शाखाका प्रबन्धक लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्युआर टेलर्स(बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने यूएसएसडीमोवाईल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन ।