काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आज बिहीबारदेखि एफपीओ निष्कासन खुला गरेको हो ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा ३करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको तीन लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीको एफपीओमा १६ जेठसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २५ जेठसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको एफपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि-आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरू, सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
लघुवित्तले एफपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपछि लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।
सार्वजनिक निष्कासन नगरेको साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गरी नेप्सेमा सूचीकृत भएको घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्जर गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) २०७३ अनुसार बैंक तथा वित्तीय संस्थाको संस्था र साधारण सेयर संरचना अधिकतम ७० : ३० र न्यूनतम ५१ : ४९ कायम गर्नुपर्ने हुन्छ । तर, आईपीओ जारी नगरेको युनिक नेपालले आईपीओ जारी गरिसकेको घोडाघोडी लघुवित्तलाई गाभ्दा उक्त सेयर संरचना कायम नभएपछि नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कम्पनीले एफपीओ जारी गरेको हो ।