काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसदहरुले पार्टीले सरकारको नेतृत्व गर्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरेको गुनासो गरेका छन् ।
मङ्गलवार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यस्तो गुनासो गरेका हुन् ।
दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको समीक्षा र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको थियो । छलफलमा भाग लिने अधिकांश सांसदहरुले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको बजेटबारे धारणा राखेका थिए ।
उनीहरूले पार्टी सरकारमा हुँदा आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न सकिन्छ भन्ने आशा भए पनि सोचे अनुसार बजेट नपरेको गुनासो गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले संयुक्त सरकार भएकाले आफ्नो मात्र चाहना अनुसार बजेट नबन्ने बताएका थिए ।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालका अनुसार सारमा बजेट राम्रो आएको पार्टी संसदीय दलको निष्कर्ष छ ।