काठमाडौँ । नेपालका लागि हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अनिवार्य गरिएको मास्क, खोप कार्ड, पीसीआर जाँच लगायतका कोभिडसम्बन्धी प्रोटोकल हटाइएको छ ।
कोभिड-१९ को घट्दो प्रभाव तथा वैशाख अन्तिम साता विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी सङ्कटकालको अन्त्यको घोषणासँगै नेपालले हवाई सेवामा अनिवार्य गरेको उक्त नियम हटाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हवाई यातायातमा कोभिड-१९ को संक्रमण फैलिन नदिन नेपालले अनिवार्य गरेका पछिल्लो पटकका हेल्थ प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले हटाएको हो ।
प्राधिकरणले आन्तरिक उडानमा पनि यो नियम लागू भएको जनाएको छ ।
उड्डयनसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिन प्राधिकरणले २०७९ असार १७ मा प्रकाशन गरेको पछिल्लो एरोनटीकल इन्फरमेशन पब्लिकेसन (एआईपीबाट कोभिड प्रोटोकल आइतबार हटाउने निर्णय गरेको थियो । उक्त निर्णय एआईपीमा राख्दै प्राधिकरणले नेपालमा उडान गर्ने दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा र आन्तरिक वायुसेवा कम्पनीलाई पनि जानकारी गराएको छ ।