काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी माथि आज संसदीय सुनुवाइ समितिको बैठकमा छलफल हुदैँछ ।
आज सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने समितिको बैठकमा प्रस्तावित न्यायाधीश उपर परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुन लागेको हो ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल गर्ने कार्यतालिका छ । कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ ।
उनीमाथि १ जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई र अधिवक्ता अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले पनि उजुरी गरेका छन् ।
समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेल मार्फत आएको र अरु उजुरी लिखित रूपमा कार्यालयमा आएको छ ।
कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।
यसअघि हिजो आइतबार मात्रै पत्र लेखेर न्यायपरिषद्ले प्रधानन्यायधिसलाई अनिवार्य अवकाशमा जाने मिति सम्झाएको थियो ।