गोठाला केटाहरू गाईको बगाललाई चिउरेनी ढिकबाट दक्षिण -पूर्वतिर सोझ्याएर गफ गर्दै थिए । गएकजना दाउरा चिर्न खटिएका काका आइपुगे । उनले खुर्पेटो झिकेर हाँगामा झुन्ड्याए । ‘के गफ गर्दै छ्न् मु… केटाहरू हँ ?’ शब्दमा अनुशासन थिएन । तर त्यो अनुशासनहीनता सारा केटाहरूका लागि शिक्षा र मनोरञ्जनको स्रोत थियोे । किशोरहरू तिनै घर्ती बाबाट विवाह गरेपछि के हुन्छ, दुलहीसित कसरी बोल्नुपर्छ , के गरे दुलही रतिएर फकिन्छे आदि कुरा सिक्थे । अङ्ग प्रत्यङ्गको ठेट नाम र हरेक क्रियाकलापको ठोस सैद्धान्तिक ज्ञान आसन्न व्यावहारिक जीवनमा खुब काम लाग्थ्यो ।
ठट्टा मस्करी सकिएपछि उनी गम्भीर हुन्थे । क्वाप्प मुखमा लाम्पाते सुर्ती राखेर जिब्रोले धकेल्दै एकान्त कुनातिर ठेल्थे उनी । फेरि उनी ठूलो पिक थुक्थे चिउरेनी ढिकको भिरतिर । थुक चिलाउनेको पातमा ठोकिएर र्याल्ल गर्दै पोखिन्थ्यो । फेरि उनी तलतिर हात लगेर पुट्ठाका गाला कन्याउँथे । त्यो कन्याउँदाको मस्तीमा ओह ओह ! गर्दै ज्यानै कक्रक्क पार्थे उनी । उनको मुख आँ गरिरहेको हुन्थ्यो । बेफिक्री र अलमस्तको कन्याइमा धोर्यात् धोर्यात् आवाज आउँथ्यो । लाग्दथ्यो , कन्याउँदाको आनन्द पनि जीवनका अनेक आनन्दमध्ये एक हो । त्यही बेहोसीमा उनको होलो अधोवस्त्रले सत्त छाडिदिन्थ्यो । केटाहरू मरी मरी हाँसेको सुनेर उनी भन्थे , ‘तिमीहरूको छैन र ?’
उनी भन्थे , ‘हेर बाबुहो ! यो चिउरेनी ढिक र मान्छेको जिन्दगानी उस्तै हो । हामी अहिले चिउरेनी ढिकको शिरमा छौं । यहाँनेरको जमिन समतल छ । समतलमा बसेको हुँदा हामी हाँस्न पाएका छौं । गाउन पाएका छौं । चिउरेनी ढिक जिन्दगानीलाई सन्तुलनमा राख्ने अन्तिम सिमाना हो । हेर बाबुबो ! चिउरेनी ढिकको सिमाना सुरु हुनु अगावै डरायौ भने जिन्दगीमा केही गर्न सक्ने छैनौ । तिमी ढिकको त्यो ठाउँसम्म पुग्नु जरुरी छ , जहाँबाट संसार नियाल्न सकियोस् । जीवनको सन्तुलन बुझ्न पनि भिरको थाप्लोसम्म पुग्नु आवश्यक छ । परन्तु खुट्टा चिप्लियो कि गयो ।’
उनले खुर्पेटो भिरे । बन्चरो काँधमा राखे । अघि मुखमा च्यापेको लाम्पाते सुर्तीको लुँडो थूउउउ गर्दै भिरतिर थुके । र छोटाछोटा पाइला सार्दै पूर्वोत्तरतर्फ लागे । मैले पालैपालो उनलाई र चिउरेनी ढिकको भिरलाई हेरिरहें । उनी निरक्षर थिए । उनका लागि क र ख बराबर । परन्तु कौमुदी पढ्नेले र बारम्बार भागवत सुन्ने सुनाउनेले भन्दा निकटबाट जिन्दगीलाई देखेका र भोगेका थिए उनले । उनी आर्थिक रूपमा दरिद्र थिए । तर स्वाभिमानरूपी अलङ्कार पहिरेर हिँड्थे । उनको तल्लो शरीर अर्धनग्न थियो । परन्तु त्यो नग्नताले कथित इज्जतदारहरूको धज्जी उडाउँथ्यो ।
उनलाई थाहा थियो , जीवनको रहस्य बुझ्न चिउरेनी ढिकको थाप्लोमा पुग्नुपर्छ । त्यहाँबाट नै जीवनको पारावार देखिन्छ र चिनिन्छ । उनको जीवन कठोर संघर्षमा व्यतीत हुँदै थियो । तथापि आधा पेट खाना र आधा ज्यान नानामा पनि उदासी थिएन । संसारको यथार्थ वस्तुस्थिति बुझेर बाँचेको जीवन्त जीवन थियो त्यो । उनी निक्खर अस्तित्ववादी थिए ।
‘हलो बोक्ने बलदेव , बन्चरो बोक्ने राम , गाई चराउने कृष्ण कन्हैया सबलाई राम राम । ’ यो किसानी गरेर खाने ग्रामीणहरूको ‘उपनिषद् वाक्य’ थियो ।
चलनचल्तीमा चिउरेनी ढिक भनिए तापनि त्यो ठूलो भिर हो । एउटा ठूलो वनमा अनेकौं उपवन हुन्छन् । चिनारीका लागि सबैको नाम राखिन्छ र प्रत्येक नामको अर्थ हुन्छ । रिपको वनको आरम्भ बाख्रे काफलबाट हुन्छ । त्यसपछि रामेनी ढुङ्गा (राम हेर्ने ढुङ्गा ) आउँछ । बुढापाकाहरू भन्ने गर्थे , ‘उहिलेका पुर्खाहरूलाई लघुवाको फाँटमा काम गर्न जानै पर्दैनथ्यो । खेत जोत्ने , सम्याउने , धान रोप्ने , पानी पटाउने र धान बोकेर खस्यौलीसम्म ल्याइदिने काम भूतले गर्थ्यो रे । पुर्खाहरू त्यही ढुङ्गामा बसेर भूतले काम गरेको राम हेर्थे रे ।’
आफ्ना पूर्वजलाई महान बनाउने चलाखी बाहेक केही थिएन त्यो उक्ति । बरु सायद खडेरी पर्दा शिव गुफामा रुद्राभिषेक गरेपछि पानी माग्दै उकालो लाग्ने जनसमूहलाई त्यही ढुङ्गामा बसेर हेर्थे बुढाबुढी र केटाकेटीहरू । रामेनी ढुङ्गाभन्दा तल रिपको धारा छ । धाराबाट थोरै अगाडि बढेपछि बिच्छिगाडे ( भिक्षुगाडे) खोल्सोमा पुगिन्छ । सायद कुनै बखतमा त्यहाँ कुनै मृत भिक्षुलाई गाडिएको थियो ।
अचेल गाउँमा बाँकी रहेका वृद्धवृद्धा मैदानपोखराको नर्मदेश्वर मन्दिरमा जम्मा हुन्छन् । उनीहरू अतीतको याद गर्दै भन्छन् , ‘खस्यौली ‘खस्यौली’ जस्तो छैन । रिपधारा हरायो । चिदियाको धारा हरायो । चरुवा पशु हराए । हलो – जुवा हरायो । ढिकी – जाँतो हरायो । सेल , अर्सा , अनर्सा हरायो । उखु हरायो । खुदो हरायो । रोपाइँ हरायो । वाली गीत हरायो । पिसेका चामलको पुवा हरायो । रिडी जाने पैदल बाटो हरायो । तल रिपका महादेवको गुफा सुक्खा र परित्यक्त झैं भयो ।’
सुखदुःखका कुरा गर्ने थलो थियो वन । आज वन पहुँचविहीन भयो । वनभित्र के छ कसैलाई थाहा छैन । पुरानीपोखरी , मेहलसम्मो , तेर्सो पटेसर र पहेँलीमाटी कस्ता भए होलान् ? लसुने , डुङ्गाकाट्ने , छेलछेले , तल्लोसम्मो , माथिल्लोसम्मो , नार्दे कुवा , चुरेपानी र रनेनीगाडे कस्ता भए होलान् ? कण्ठीपोखरा जाने प्राणदायिनी कुलोको हविगत कस्तो भयो होला ?
केवल तीन दशकअघिको कुरा । गोठालाहरूले चिउरेनी ढिकबाट गाईको बगाललाई पारी चौतारेतिर सोझ्याउँथे । गाईको स्वतन्त्रता चिउरेनी ढिकबाट सुरु भएर चौतारेमा सकिन्थ्यो । ‘चिउरेनी ढिकमा ख्याल गर्नु है केटा हो ! गुल्टियौ भने सिधै तल दोबाइँमा पुगेर रामनाम सत्य हौला !’ रिडीतिर गएर अलिअलि कौमुदी पढेका बुज्रुकले ठट्टा गर्थे । चिउरेनी ढिकलाई ‘चिउरेनी भिर’ भन्नुपर्ने हो । हाम्रा पूर्वजहरूले किन डरलाग्दो नाम राख्ने भनेर नरम नाम राखे होलान् । बुढापाकासँग लम्बे सङ्गत गरेका अनुभवीहरू भन्थे , ‘धेरैअघि एकजना चिउरेकी पत्नीले त्यही भिरबाट फाल हालेकी रे ।’ तर चिउरेनीले त्यसरी फाल हालेर एकबारको अमूल्य जीवन समाप्त पार्न नहुने । वनमा दाउरापात गर्न आउने भाउजूहरू भन्ने गर्थ , ‘विरह लागेपछि के गरून् त बिचरी ।’
स्याउला काट्न वनतिर झरेका दिदीबहिनी केहीबेर चिउरेनी ढिकमा बसेर सुस्ताउँथे । पारी माथिल्लो सम्मामा बसेर फाउ गाइरहेको सानो गोठालोले ठूलो गोठालोलाई सोध्थ्यो , ‘तिनीहरू किन त्यहाँ बसेका ?’ ठूलो गोठालो बडो अनुभवी झैँ बोल्थ्यो , ‘त्यहाँ कडा र सिधा स्वभावका सासुका कुरा हुन्छन् । त्यहाँ माया गर्ने र हेला गर्ने लोग्नेका कुरा हुन्छन् । त्यहाँ मर्द र नामर्द लोग्नेमानिसका कुरा हुन्छन् । माइतीका बखान र घरका बदनामका कुरा हुन्छन् ।’ त्यहाँ केही आशा प्रकट हुन्थे र केही निराशा । केही उच्छृङ्खलता हुन्थ्यो र केही विरह पनि । उनीहरू पटुकाबाट एक टुक्रो गुड र एक पसर चिउरा झिकेर बाँड्थे आपसमा ।
कोही रुन्थे घुँक्क घुँक्क दयालाग्दो आवाजमा । कोही भन्थे ‘मेरो पनि पालो आउला नि एक दिन । एक एक बदला लिनेछु ।’ कोही भन्थे , ‘धेरै धेरै रातहरू रोएर बिते मेरा ।’ कोही भन्थे , ‘एक्लै रोएर आँसु सिध्याउनुको के प्रयोजन ?’ एक्लै रुनेको जवाफ हुन्थ्यो , ‘वनकी चरीले कसैलाई सुनाउन गाउँछे र ?’ उनीहरू तल तलसम्म फैलिएको भिर हेर्दै चिउरा बुकाउँथे । सायद त्यो भिर हेरेर जीवनलाई जान्दथे उनीहरू । सायद त्यो भिरले सहनशीलता र साहस सिकाउँथ्यो । सायद कोइलीको कोहो कोहो र न्याउलीको न्याओ न्याओको मधुर आवाजले दया , करुणा र परोपकार सिकाउँथ्यो ।
चिउरेनी ढिकमा भूतका कथा हुन्थे । कुनै हाँसोलाग्दा र कुनै विकराल । ‘पारी सल्लेरी मुन्तिरको ओडारमा भयानक भूत बस्छ । उसको मावल तारेभिर हो । दुन्दुरे ससुराल हो । ऊ नुन लिन बटौली जान्छ रे रातारात । उसको ओडारभित्र एउटा तिलस्मी दुनियाँ छ रे । दूर गाउँका कतिपय युवतीहरू भूतलाई भेट्न ओडारभित्र जान्छन् रे । कतिपय युवकहरू भूतकी छोरी भेट्न जान्छन् रे । भूतले पनि प्रेम गर्छ रे । मान्नेलाई मायाले व्यवहार गर्छ रे । नमान्नेलाई घिसार्छ रे ।’
आज पनि भूत एक रहस्य हो । मलाई त्यस्तो भूतको अस्तित्वमा विश्वास लाग्दैन । तथापि मेरो छातीभित्र बचपनदेखि बसेको भूत बाहिर निस्कनै मान्दैन । बचपनमा भूतको बाटो भनेर चिनिएका ठाउँमा रातको समयमा जान अझै पनि डर लाग्छ । अहिले पनि म पुर्ख्यौली घरमा एक्लै सुत्न सक्दिन । किनकि म सानो हुँदा मेरो घरको आँगनमा भूत नाच्छ भन्ने सुनेको थिएँ ।
कुनै छिमेकी गाउँको कुरा हो यो । एकजना युवककी आमाको असामयिक देहावसान भयो । लास आँगनमा तुलसीको मठनेर पसारिएको थियो । रातिको समय थियो । शवको पाउतर्फ बसेर छोरो रोइरहेको थियो । ‘अब म कसको मुख हेरेर बाँच्ने आमा ? मलाई एक्लै छाडेर बिरानो संसारमा किन जानुभयो ?’ उसले शवलाई ढाकेको कपडा उठाएर मुख हेर्न खोज्यो , तर सकेन । उसलाई पिसाबले च्यापेको रहेछ । अलि पर कान्लातिर पनि एक्लै जान सकेन । ऊ छिमेकीलाई लिएर गयो पिसाब फेर्न । छिमेकीले सोध्यो , ‘कहिल्यै नडराउने मान्छे आज डराइस् त । ।’ उसले उत्तर दियो , ‘आमाको डर लाग्यो । आमा भूत भएर आउनुहोला कि भनेर डर लाग्यो ।’ संसार यसैगरी चलिरहेछ ।
सहरको आफ्नै सभ्यता , गाउँको आफ्नै सभ्यता र वनको आफ्नै सभ्यता । वनमा पनि नियम छन् , किन्तु अव्यक्त र शब्दहीन । सहरमा झैँ त्यहाँ पनि ‘नाइट लाइफ’ छ । एउटा संसार सुत्छ । अर्को संसार सुतेको संसारलाई सिकार गर्न निस्कन्छ । वनको संसार सुत्दा पनि चौकन्ना हुन्छ । कान ठाडा , खुट्टा तम्तयार र पखेटा तत्पर । सहरको मानिसले कच्चा ताला लगायो या लापरबाही गर्यो भने चोरले मौका पाउँछ । वनको चरी या पशुले लापरबाही गर्यो भने अफै मारिन्छ । तथापि सहर र वनको संस्कृतिमा फरक छ । मानिसले संग्रहका लागि सिकार गर्छ भने बाघले भोक मेटाउनका लागि । मानिस खानका लागि जिउँछ भने बाघ जिउनका लागि खान्छ । त्यसैले भन्ने गरिन्छ , ‘अजा सिंहप्रसादेन वने चरति निर्भयम्’ अर्थात एउटा बाख्रो सिंहको कृपाले निर्भय भएर वनमा चर्दछ ।
चिउरेनी ढिकको जीवनमा कसैलाई पनि धनी हुनु छैन । विवाहको चिन्ता छैन । त्यहाँ बलात्कार हुँदैन , मिलन मात्र हुन्छ । ऋतुमति नभएकी वनैया स्त्रीलाई कुनै पुरुषले छुंदैन । वन्य प्राणीले मान्छेले भन्दा मेहनत र प्यारले बच्चा हुर्काउँछ । किन्तु कुनै फल र प्रतिदानको आशा गर्दैन । सक्षम हुनासाथ बिदा भएर गएका सन्ततिहरू अपरिचित झैँ हुन्छन् । निस्पृह , निरालम्ब , नि:स्वार्थ र अनासक्त हुन्छ वन्य जीवन ।
वृक्ष , लता , झारपात , घासफुस र चराचुरुङ्गी एवं पशुहरूबिचको एउटा जटिल सन्तुलन हो चिउरेनी ढिक । उसले कुनै नीति निर्माण गर्नु पर्दैन । संविधान लेख्नु पर्दैन । आचारसंहिता बनाउनु पर्दैन । त्यहाँ कुनै राज्यप्रणाली छैन । त्यहाँ भ्रष्टाचार हुँदैन । तथापि त्यहाँ अनुशासनको अव्यक्त नियम छ । अनुशासनमा बस्न नसक्नेलाई प्रकृतिले मौन सजाय दिन्छ । वातावरणमा घुलमिल हुन नसक्नेलाई प्रकृतिले नै विनाश गरिदिन्छ । वन डरलाग्दो मात्र छैन । उस्तै पर्दा वन आर्तहरूको मलम हो । महाकवि आफ्नो वन शीर्षकको कवितामा लेख्छन् , ‘आँसु खसाली रोइरहेथें जीवन – वनको बीच , खोजी खोजी कतै नपाई मेरो मनको चीज ।’ कवि जीवनरूपी वनको बिचमा रुन्छन् । रुनुको कारण छ । जीवन पनि एक वनै त हो । मनको चिज नपाएपछि जीवन नै घनघोर वन झैँ भयावह हुन्छ । परिस्थिति र नियतिले साथ् दिँदा सुरम्य र सुमधुर वन झैँ आनन्ददायी र सुखप्रद हुन्छ जीवन । कहिले यो जीवन रमणीय हुन्छ भने कहिले भयप्रद । मनको वनमा कोइलीले सुन्दर गान गर्छ कहिले र कहिले न्याउलीले झैँ विरह गाउन थाल्दछ । कहिले मन अनुरागले आर्द्र भएर प्रेमरसमा रम्दछ भने कहिले चैत्रको खर झैँ शुष्क भएर डढेलो सल्काउँछ ।
कविवर माधव घिमिरे पनि घनघोर शोक र विपत्तिको समयमा शब्दमै भए पनि वनको शरणमा पुग्दछन् । ‘मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा , बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा ।’ सहरको मानिसलाई दु:ख दिन वनमा पठाइन्छ । रामलाई दु:ख दिनका लागि चौध वर्ष बनिवास पठाइएको थियो । पाण्डवहरूलाई दु:ख दिनकै लागि बाह्र वर्ष वनतिर धपाइएको थियो । किन्तु वन दयालु पनि छ । पठाउनेले जुन गोता दिन भनेर पठाएका थिए , वनमा त्यस्तो केही पनि भएन ।
चिउरेनी ढिकमा न कोही नीतिज्ञ विदुर , न त कोही धृतराष्ट्र । त्यहाँ न कोही दुर्योधन न त कोही दु:शासन । त्यहाँको शकुनि जुवा जान्दैन । त्यहाँका नारीलाई द्रौपदीको झैँ सारी तानिने भय छैन । त्यहाँ कसैले कोखमा हुर्किरहेको भ्रुण लुकाउन पर्दैन । त्यहाँ नवजात शिशुलाई गङ्गामा बगाउनु पर्दैन । त्यहाँ नारीलाई सहवासको पुतली ठान्ने राजा शान्तनु छैन । त्यहाँ आजीवन ब्रह्मचर्यको भीष्म प्रतिज्ञा गरेर जीवनभर पश्चात्ताप गर्ने देवव्रत पनि छैन । त्यहाँ ईश्वर छैन । इहलोक र परलोक छैन त्यहाँ । त्यहाँ केही जान्नु छैन । केही पाउनु छैन । केही गुमाउनु छैन । कोही शत्रु छैन । त्यहाँ असली समभाव र साम्यवाद छ ।