काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब २०८४ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्दर्भमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले २०८४ साल सम्ममा स्वतन्त्र पार्टी सबैभन्दा धेरै सदस्य भएको ठुलो पार्टी बन्ने जिकिर गरे ।
उनले भने, ‘झण्डै १२ लाख जनताले घण्टीमा भोट हाल्नु भयो उहाँहरू सबै हाम्रो सदस्य होइन भोली पनि यो देशमा सबै भन्दा बढी सदस्यता लिने पार्टी स्वतन्त्र पार्टी हुन्छ ढुक्क हुनुहोस् । देश दौडानमा हिँडिरहेका छौं २०८४ सालमा नेपाली जनताले जिताएर पठाएको सबै भन्दा ठूलो पार्टी पनि हुन्छ ।’
उनले ८४ सालको चुनावको लागि पार्टीदेखि वडा सम्म होनाहार व्यक्तिहरूलाई उम्मेदवारका रूपमा तयार गर्ने तयारी भइरहेको बताए ।
उनले भने, ‘पार्टी देखि वडा सम्म एक एक होनाहार व्यत्तिहरुलाई उम्मेदवारका रूपमा तयार गर्नु नै हाम्रो यो साढे चार वर्षको होमवर्क हो ।’