काठमाडौँ । कोशी नामकरणको विरोधमा आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति र प्रदेश सरकारबीच वार्ता हुने भएको छ।
सोमबार बिहान विराटनगरमा दुवै पक्षबीच वार्ता हुने तयारी रहेको प्रदेश सरकार स्रोतले पुष्टि गरेको छ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको छ।
प्रदेशका दुई सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साथ छाडेपछि प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति बनाएको थियो। नामबारे कुनै बहस नहुने बताउँदै आएका मुख्यमन्त्री हिक्मत कार्कीले आफू अल्पमतमा परेपछि भने वार्ता समिति बनाएका थिए।
खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेको समिति बनाएर सरकारले वार्ता आह्वान गरेको थियो।
सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले पनि आइतबार समिति बनाएको हो।