गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त धार्मिक उत्सव एवं चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएका छन् ।
इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उल अजहा) पर्व, २०८० को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको बताएका छन् ।
उनले सन्देशमा भनेका छन्, “हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ ।”
यो संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउँदै सन्देशमा एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाइने भनिएको छ । यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा प्रेरणा दिने कामना गरिएको छ ।