काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरी द्रुत कार्यटोली (र्यापिड एक्सस टिम, आरएटी) गठन गरेको छ ।
प्रदीप तिमिल्सिना (साजन शर्मा)को नेतृत्वमा सामाजिक कार्यमा खट्ने उद्देश्यले समिति गठन गरिएको हो । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्याउन सकिने रास्वपाले जनाएको छ ।
आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने रास्वपाले जनाएको छ । आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरुष) छन् ।
उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको ढकालले जानकारी दिए ।
रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संस्थाको रूपमा बुझ्न नहुने महामन्त्री ढकालले बताए ।
दैविक प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्न लागि आएटी परिचालन हुने भएको छ ।
केन्द्रीय आरएटीमा तिमल्सेना संयोजक, उप-संयोजक प्रेम थापा, सचिव फणीन्द्र पौडेल, कोषाध्यक्ष कृष्णबहादुर थापा र सदस्यहरूमा राम कृष्ण श्रेष्ठ, महमद हुसेन खान (मुन्ना), चिरञ्जीवी तिमल्सिना, रवि भुजेल, शेरबहादुर सिंह, सुरज खड्का, दिपा केसी बास्तोला र मिलनचन्द्र महत रहेका छन् ।