काठमाडौँ। झुटो विवरण पेस गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा बुटवलमा दुई जना पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका-१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।
आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरूलाई झुटो विवरण पेस गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ज्ञवालीले बताए ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।