काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघाती काम नगरेको बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले एमालेले सरकारबाहिर बसेको पीडा अभिव्यक्त गरेको टिप्पणी गरे । उनले सरकार अङ्कगणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताए।
सांसद दाहालले भारतीय व्यापारी प्रीतम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदीक्षा राखेको कुरा अभिव्यक्त गरेका र त्यही कुरा प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै त्यो विषय राजनीतिक नभएको बताए।
सांसद दाहालले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदीक्षासहित सिंहले नेपाल र भारतका व्यक्तिहरूलाई भेटेको बताए पनि त्यसो गर्न प्रचण्डले नअह्राएको पनि बताए ।