काठमाडौँ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सादा पोसाकको टोलीले वीरगन्ज भन्सार कार्यालय पछाडिबाट अवैध रूपमा भित्रिएको लत्ताकपडा बरामद गरेको छ।
प्रहरी टोलीको उक्त विशेष सुराकीको आधारमा बुधबार बिहान २ बजे अवैध २० लाखबराबरको लत्ताकपडा बरामद गरेको हो। प्रहरीका अनुसार अवैध रूपमा भन्सार छलेर भित्रिएको लत्ताकपडा १८ पोकामा तयार पारेर ट्रान्सपोर्टमा पठाउने तयारी गरिएको थियो।
पछिल्लो समय पर्साका विभिन्न क्षेत्रबाट अवैध रूपमा तस्करी भइरहेको सूचनाको आधारमा मधेस प्रदेश प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको प्रहरी स्रोतले जनाएको छ।
अवैध रूपमा भन्सार छलेर भित्रिएको लत्ताकपडा जिल्ला प्रहरी कार्यालय पर्साले रोक्न नसकेपछि प्रदेश प्रहरी परिचालन गरिएको थियो।