काठमाडौँ । कीर्ते गरेर जग्गा किनबेच गरेको आरोप लागेपछि फरार रहेका मकवानपुरका एक वडाध्यक्ष र वडा सचिवसहित १० जना अझै फेला परेका छैनन् ।
कागजात कीर्ते गरेर छोरा बनी अर्काको जग्गा नामसारी गरेको घटनामा संलग्न रहेको आरोप लागेका थाहा नगरपालिका-१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान सहित १० जना फरार भएका हुन्। उनीहरू विरुद्ध जिल्ला अदालत, काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ।
पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष स्याङ्तान सहित वडा सचिव ओब्जङबहादुर रोकाया, कार्यालय सहयोगी चन्द्रकुमार मोक्तान, किर्तेका योजनाकार बमबहादुर गुरुङ, राजु गुरुङ, रामशरण गुरुङ, कृष्णबहादुर गुरुङ, सुकुमान स्याङ्तान, रामबहादुर स्याङ्तान र नरेश घलान फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) बामदेव गतमैले बताए ।
उनले भने, ‘काठमाडौँ प्रहरीले कार्यालयमा उपस्थीत गराउनु भनेर पत्र पठाएको छ, हामी सम्पर्क गर्न खोज्यौँ भेट्न खोज्यौँ, घरपरिवारको सम्पर्कमा पनि छैनन् ।
स्याङ्जाकी उमादेवी गुरुङलाई आमा बनाएर सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।