काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि युवाहरू विदेश जाने दर ह्वात्तै बढेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमाफर्तत नेता पोखरेलले विदेश गएकाहरूलाई स्वदेश फर्काउँछौँ भन्नेहरू राष्ट्रिय दलका रूपमा उदाएपछि विदेशी युवाहरूको दर ह्वात्तै बढेको बताएका हुन् ।
रास्वपाका सभापति रवि लामिछानेले गत मंसिरमा सम्पन्न आम निर्वाचनको पूर्वसंघारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाउने बताएका थिए ।
महासचिव पोखरेलले त्यही लोकप्रिय भाषणका कारण नयाँ दल राष्ट्रिय पार्टीका रूपमा उदाएको तर उनीहरूको उदयपछि विदेशिनेको संख्या झनै बढेको आरोप लगाएका हुन् । एमाले सरकारमा हुँदा विदेश जानेको संख्या घटेको दाबी पनि उनले गरे ।
’तथ्यहीन रूपमा पुराना पार्टीका कारणले बिदेसिने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कु प्रचार हो । विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै बिदेसिनेको संख्या झनै बढ्यो, उनले भनेका छन् ।
नयाँ र पुरानाको पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठिक र बेठीक छुट्याउनुपर्ने उनले बताएका छन् ।