काठमाडौँ । विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागले अहिलेसम्मकै धेरै परिणामको सुन पक्राउ गरेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।
हङकङको प्लेनबाट आएको सुन एयरपोर्ट गेटबाट पक्राउ गरिएको हो । उक्त सुन ७० देखि सय किलोसम्म हुन सक्ने अनुमान गरिएको छ । ‘भन्सार र इमिग्रेसन एरिया क्रस गरिसके पछि बाहिर गेटबाट पक्राउ गरिएको हो’ प्रशासन विमानस्थल स्रोतले भन्यो, ‘सुन कम्तिमा पनि ७० देखि सय किलोसम्म हुन सक्छ भन्ने हाम्रो अनुमान छ’
ठूलो परिमाणमा सुन तस्करी हुन्छ भन्ने कागजातहरूमा सुन्नमा आएपनि अहिलेसम्म यो परिमाणको सुन भौतिक रूपमै पक्राउ परेको बारे आफूलाई थाहा नभएको र यो नै सर्वाधिक परिमाणको सून भएको ती स्रोतको भनाई छ ।
मोटर साइकलको ब्रेक सु भनेर आएको सामान भित्र सुन रहेको र त्यसको तौल करिब एक सय ५२ किलो रहेको स्रोतले जनाएको छ ।
राजश्व अनुसन्धान विभागको नेतृत्व सहसचिव नवराज ढुङ्गानाले गरिरहेका छन् । असारको दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विभागको महानिर्देशक भई गएका थिए ।