दाङ । दाङमा प्रहरीले बेवारिसे अवस्थामा चितुवाको छाला बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका-५ जमुनिवासको जङ्गलमा बेवारिसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो ।
हरियो रङ्गको प्लास्टिकको झोला बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताइन् । पुच्छरदेखी टाउकोसम्म ७ फिट ४ ईच्छको छाला बरामद गरिएको हो ।
बरामद गरिएको छाला निकासीको लागी त्यहाँ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । छाला ओसारपसारमा संलग्नहरुको पहिचान नभएपनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साउन ५ गते प्रहरीले छाला बरामद गरेको थियो ।