काठमाडौँ । कृषि बीमालाई प्राथमिकता साथ सञ्चालन गरेर लाखौँ किसानको जोखिम न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्यको आयोजनामा राजधानीमा आयोजित कृषि बीमा गोष्ठी कार्यक्रममा सहभागीहरूले कृषि बीमाको प्रभावकारितामा जोड दिएका हुन् ।
परम्परागत ढाँचाको कृषि बीमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बीमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको वक्ताहरूले बताएका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशस्थित कैलालीको भजनी नगरपालिकामा सञ्चालित ‘बाढी सूचकाङ्कका आधारमा सामूहिक धान बाली बीमा’को प्रभावकारिताबारे छलफल भएको थियो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्यको प्राविधिक सहयोगमा भजनी नगरपालिकामा ‘बाढी सूचकाङ्कका आधारमा सामूहिक धान बाली बीमा’ कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त बीमा कार्यक्रमको सफल परीक्षणपछि यस्ता बीमा लेखहरूलाई व्यवस्थित गर्ने र अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताइएको छ । बाढी बीमालेखलाई कृषि ऋण, बीउबिजनमा जोडेर स्वतः बीमा हुने विषयमा पनि छलफल भएको थियो ।