काठमाडौँ । उच्च अदालत विराटनगरले सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको हो ।
अघिल्लो शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षारोपण गरेका थिए ।
रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको जग्गामा गएर वृक्षारोपण गर्न थालेपछि जग्गाधनी वृक्षारोपण स्थलमा आएकी थिइन् । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै मेयर साम्पाङले अभियन्तासहित वृक्षारोपण गरेका थिए ।
आफूले भोगचलन गरिरहेको जग्गा कब्जा गरी वृक्षारोपण गरेपछि अधिकारी उच्च अदालत गएकी थिइन् ।

