डोटी । डोटीको सिलगढी–झिग्राना सडक खण्डमा गरिएको कालोपत्रे एक वर्षमै भत्किएको छ ।
जिल्ला सदरमुकाम सिलगढी देखि सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको मुख्य प्रवेशद्वार झिग्राना सम्म पुग्ने सडक कालोपत्रे भएको एक वर्षमै भत्किएको हो ।
सिलगढी देखी झिग्राना सम्म दुई वटा छुट्टा छुट्टै टेन्डर गरी निमार्ण गरिएको सडक एक वर्षमै भत्किएपछि स्थानीय बासी आक्रोशित बनेका छन् । सिलगढी–ओखरबोट सडक खण्ड सम्म एक भाग र ओखरबोट–झिग्राना सडक खण्ड अर्को गरी दुइटा टेन्डर रहेका थिए ।
दुइटै सडक खण्डमा गाडी चलाउनै समस्या हुने गरी कालोपत्रे उप्किएको स्थानीय चालकहरू बताउँछन्
हस्तान्तरण गरेको एक वर्ष नपुग्दै कालोपत्रे उप्किएको छ ।
‘कालोपत्रे गर्दा चिल्लो देखिएको सडक अहिले कालोपत्रे गरेको हो कि हैन भन्ने नै थाहा पाइँदैन’, स्थानीय सवारी चालक कृष्णबहादुर ओली भन्छन्, ‘अधिकांश ठाउँमा नालीसमेत भत्किएको छ ।’
सडक कालोपत्रेपछि खुसी भएका स्थानीयवासी कालोपत्रे भत्किन थालेपछि आक्रोशित देखिएका छन् ।
निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेका कारण चाँडै सडक भत्किएको स्थानीय दिलबहादुर साउदको आरोप छ ।बाहिर चिल्लो देखिएको सडकको गुणस्तर मापन नगरिँदा यस्तो समस्या भएको उनले बताए ।
पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावल गुणस्तरहीन काम नभएको बताउन् छन् । उनी भन्छन् ‘काम तोकिएको गुणस्तर अनुसार नै भएको हो, गुणस्तरहीन भन्ने कुरा हुँदैन, डिजाइन इस्टिमेट अनुसारको काम भएपछि मात्रै कार्यालयले भुक्तानी गरेको हो ।’
उनी एक वर्षमै कालोपत्रे उप्किनुमा भू–बनोटको समस्या देख्छन् । ‘भू–बनोट कमजोर भएका कारण झिग्राना सडकमा पहिरोको समस्या छ’, उनी भन्छन् ‘माथिबाट पहिरो आउँछ, नाली बन्द हुन्छ, नाली बन्द भएपछि पानी सडकमा बग्छ र कालोपत्रे बगेर जान्छ ।’
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सिलगढी–ओखरबोट सडक खण्ड निर्माणको काम २०७९ साल असार २० गते सम्पन्न भएको थियो । अढाई वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ साल असार ३० गते सम्झौता भएको थियो ।
कोरोना महामारीको कारण देखाउँदै २०७९ साल असोज ३० गतेसम्म म्याद थप भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
कुल १९ करोड ७८ लाख ४४ हजार ३१३ रुपैयाँको लागतमा निर्माण भएको करिब ८ किलोमिटर सडकको अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ । सोही सडकको ओखरबोट–झिग्राना सडक खण्डको कालोपत्रे पनि एक वर्ष टिकेन ।
२६ करोड ६२ लाख २७ हजार ६२८ रुपैयाँ लागतमा निर्माण भएको सात किलोमिटर सडकको लागि एकै दिन टेण्डर आह्वान र सम्झौता भएका यी दुवै सडक खण्डको काम पनि एकै दिन सम्पन्न भएको पूर्वाधार कार्यालयले जनाएको छ । दुवै सडक खण्ड निर्माण कम्पनी चन्द्र एण्ड वसन्त (सीएबी) कन्स्ट्रक्सन प्रालिले २०७९ असार मसान्तमा हस्तान्तरण गरेको थियो


